समाचारदाता
सोमबार, जेष्ठ २१ २०८१
काठमाडौँ — गत वैशाख १२ मा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चक्रपथ दोस्रो खण्ड विस्तारमा ढिलाइ गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको आलोचना गरे । छिटो निर्माणमा जानुपर्ने दबाब दिँदै उनले एक–एक ट्रक धूलो फोहोर डिभिजन सडक कार्यालय मीनभवन र सडक विभाग कार्यालय बबरमहल अगाडि खन्याउन लगाए । चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिकमन्त्री महासेठलाई एक ट्रक धूलो उपहारका रूपमा खसालिने भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा धूलो खसालेको भिडियो राखेर पोस्ट गरे ।
तर, उनले डिभिजन सडकमा धूलो लगेर फाले पनि विस्तारको काम उक्त कार्यालय भित्र पर्दैन । समग्रमा सडक विभागले हेर्ने भएपनि यो सडक विस्तार हेर्न छुट्टै योजना कार्यालय छ । तर, शाहले चक्रपथ विस्तारको काम कहिले सुरु हुन्छ भन्नेबारे उठाएको प्रश्न भने जायज हो । विस्तारको चर्चा चलेकै ६ वर्षभन्दा बढी भए पनि हालसम्म कामले गति लिन सकेको छैन ।
चक्रपथ विस्तारको जिम्मा लिएको चीनले पूर्वतयारीको काम सकेपछि आउने जनाएको थियो । तर, पूर्वतयारीको काम सकिए पनि हालसम्म चिनियाँ निर्माण टोली आएको छैन । सुरुमा पूर्वतयारीको काममा नेपाल सरकारले समयमै नसक्दा चीनको टोली आउन मानेको थिएन । बीचमा कोभिड–१९ का कारण आयोजनाले गति लिन सकेन ।
पूर्वतयारीका लागि जथाभाबी सडक भत्काइएका कारण धूलोले यात्रुलाई भने सास्ती थपेको छ । जथाभाबी भत्काइएकाले सडक साँघुरो भएर दैनिक ट्राफिक जाम हुने गरेको छ । अब बर्खा सुरु भयो, थुपारेको धूलो माटो व्यवस्थापन गर्न नसकिए समस्या थपिनेछ । सडक हिलाम्य बन्नेछ । यो खण्ड भएर विभिन्न गन्तव्यमा जाने यात्रुलाई सास्ती थपिनेछ । एक वर्षयता यो समस्या कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको विभिन्न खण्डमा छ ।
विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पार्ने भनेको एक वर्ष बित्दा पनि चिनियाँ कम्पनीले पूरा गर्न सकेको छैन । चिनियाँ पक्षसँग अन्तिम सम्झौता हुने चरणमा रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको दाबी छ । ‘दुई देशका अधिकारीबीच लेटर अफ एक्सचेन्जमा हस्ताक्षर हुन बाँकी छ,’ उनले भने, ‘चिनियाँ संयन्त्रबाट गर्ने काम भइरहेको छ, हस्ताक्षर हुनेबित्तिकै काम अघि बढ्नेछ ।’ अहिले सम्झौता भए आगामी असोजबाट निर्माणको काम सुरु हुने उनको भनाइ छ ।